भोलिदेखि मन्थलीमा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड, ६६ स्वर्णको लागि ७३९ जनाले गर्दै छन् प्रतिस्पर्धा

| माघ २७, २०८१ आइतबार

A A A
A A A

२७ माघ, रामेछाप । सोमबार (भोलि) देखि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थलीमा सुरु हुने भएको छ । यस अगाडि जिल्लाका सबै पालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका छन् । 

 

तीन दिन सम्म मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति (जिखेविस) को आयोजनामा हुने रनिङ शिल्डमा ६६ वटा स्वर्ण पदकको लागि आठ स्थानीय तहका ७ सय ३९ जना छात्र, छात्राले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले बताए । साथै, ८ वटै पालिकाका प्रशिक्षक र व्यवस्थापक समेत ८९ जना सहभागी हुने छन् । 

 

आइतबार बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठसहितको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले ६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र कराँते विधामा प्रतिस्पर्धा हुने जानकारी दिए ।

 

आयोजकका अनुसार जिल्ला समन्वय समितिको प्राङ्गणमा उद्घाटन कार्यक्रमसहित भलिबल, कबड्डी मन्थली–१ को कार्यालय अगाडि, मार्सल आर्टका सबै खेल (जिखेविस) को कार्यालय परिसरमा र ऐथ्यलेटिक्सका सबै खेल नागकन्या माविको हटेचौर मैदानमा खेलाइने अध्यक्ष कार्कीले जानकारी दिए । 

 

सोमबार दिउँसो १ बजे बागमती प्रदेशका सांसद एवं प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्घाटन गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

 

१९ लाख २२ हजार २ सय खर्च हुने अनुमान गरेको जिल्ला स्तरीय रनिङ शिल्ड संचालन गर्न मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ दिने निर्णय गरेको आयोजक (जिखेविस) को भनाई छ । 

 

रनिङ शिल्ड विजेतालाई विगतको भन्दा बढाएर नगद ३० हजारसहित शिल्ड, टफ्रि, मेडल र प्रमाण पत्र प्रदान गरिने (जिखेविस) का कार्यालय प्रमुख विष्णु श्रेष्ठले बताए ।

 

उप विजेतालाई नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्ने उनको भनाई छ । 

 

साथै, मार्च पास विधामा पहिलो, दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँद्वारा पुरस्कृत गर्ने बताइएको छ । 

 

१२ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागेको र त्यसले अपुग भए थप सहयोग गर्न मन्थली नगरपालिका तयार रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले प्रतिबद्धता जनाए । 

 

मन्थली बाहिरबाट सहभागी हुने विद्यार्थीहरूको व्यवस्थापनको लागि सबै तयारी पूरा भएको जानकारी दिँदै समितिका अध्यक्ष कार्कीले भने ‘विगतको भन्दा थप सुधार गरेर निर्विवाद गर्ने गरी खेल खेलाउने तयारीमा छौँ’ भने।  

 

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नियम र अनुशासनमा रहेर खेल खेल्नु पर्नेमा जोड् दिए । 

मिलन घिमिरे (बि क)
| बैशाख ११, २०८२ बिहिबार