‘हामी बजेट अधिवेशनलाई अवरोध गर्न पक्षमा छैनौँ, छानबिन समिति काँग्रेसको बटमलाइन हो’– नेतृ संग्रौला

४ जेठ, रामेछाप । नेपाली काँग्रेसकी नेतृ एवं केन्द्रीय सदस्य डा.डिला संग्रौंलाले संसदीय छानबिन समिति गठन गरेर सबै भ्रष्टाचारको फाइल खोल्न काँग्रेस तयार रहेको बताएकी छिन् । काँग्रेसको ‘बटमलाइन्’ संसदीय छानबिन समिति गठन रहेको
दोहोर्याउँदै उनले काँग्रेस ‘प्रचण्ड’ सरकारलाई भत्काउने खेलमा नरहेको समेत प्रस्ट पारिन् ।
शुक्रवार बिहान मन्थलीमा प्रेस युनियन रामेछापले गरेको पत्रकार भेटघाटमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले लाखौं जनताको सहकारीबाट अरबौँ रकम हिनामिना भएकाले त्यसको टुङ्गो लगाउन पार्टीले संसदीय छानबिन समिति आवश्यक रहेको धारणा राखिन् ।
महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेकी नेतृ संग्रौलाले ठुला–ठुला सुन काण्ड, सरकारी जग्गा हडपेका काण्डहरू सबैको फाइल खोल्न काँग्रेस तयार रहेको जिकिर गर्दै स्टनबाजीको पछि भने काँग्रेस नलाग्ने तर्क गरिन् ।
उनले काँग्रेस भ्रष्ट्राचार विरोधी अभियानमा रहेको दोहोर्याउँदै फाइल खोले काँग्रेसले सरकारलाई सहयोग गर्ने बताइन् । तर, जबरजस्ती गरेर काँग्रेसलाई पेल्न खोजे राणासँग नडराएको पार्टी यो सरकारसंग डराउँदैन भनिन् ।
काँग्रेस संसद् अवरोध गर्ने पक्षमा नरहेको तर्क गर्दै छानबिन समिति गठनको विकल्प नरहेको जिकिर उनको छ ।